०७ मंसिर २०८३
काठमाडौं- १२ वर्ष लामो कुटनीतिक नाकबन्दी तोड्दै, हवाई प्रवेशमार्गमा ब्रेक थ्रु गर्दै अन्ततः प्रधानमन्ी बालेन शाहले भारतलाई भैरहवाबाट हवाई रुट दिन सहमत गराएका छन् । दुई दिने भारत भ्रमणलाई ऐतिहासिक बनाउने क्रममा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति भएको छ ।
सहमतिअनुसार भारतले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने छ । संयुक्त विज्ञप्तिको बुँदा नम्बर ८ मा भनिएको छ, ‘हाल एकतर्फी रहेको ‘बी३४५’ काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन्। यस सम्बन्धमा मोडालिटीलाई अन्तिम रूप दिन तथा हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ।‘
सोमबार दुई देशबीचका प्रधानमन्त्रीको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा हवाई रुटबारे उल्लेख नगरिए पनि केहीबेरअघि जारी संयुक्त वक्तव्यमा भारतले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने उल्लेख छ । नेपाललाई भैरहवा रुटको अनुमति दिएबापत भारतले पनि नेपालसँग बागडोग्रा एयरपोर्टका लागि हवाई रुट मागेको थियो । तर, नेपालले आफ्नो आन्तरिक सुरक्षाको कारण देखाउँदै सो दिन अस्विकार गरेको छ ।
पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली र शेरबहादुर देउवा एक दशक भन्दा लामो समयदेखि लागि परेपनि भारतले काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्ग दिन आनाकानी गर्दै आएको थियो । तर, प्रधानमन्त्री बालेन शाहलाई निकै महत्व दिएको भारतले अन्ततः उनको भ्रमणसँगै भैरहवाबाट हवाई रुट दिन सहमत भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको यो नै सबैभन्दा ठूलो उपलब्धी बनेको छ । किनकी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने थप रुट आवश्यक थियो । यो सहमति सँगै उड्यन क्षेत्रमा नयाँ ब्रेक थ्रु भएको छ ।
हाल अन्तर्राष्ट्रिय उडानका लागि सीमित प्रवेशमार्गमा निर्भर रहनुपर्दा नेपालको हवाई उड्डयन क्षेत्र प्रभावित हुँदै आएको छ । नयाँ प्रवेशमार्ग उपलब्ध भएपछि अन्तर्राष्ट्रिय विमान कम्पनीलाई नेपालका क्षेत्रीय विमानस्थलसम्म उडान सञ्चालन गर्न सहज हुने र उड्डयन क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढ्ने अपेक्षा छ ।
यसअघि पनि नेपालका प्रधानमन्त्रीहरूको भारत भ्रमणमा हवाई रुटको विषय प्राथमिकताका साथ उठ्ने गरे पनि ठोस सहमति हुन सकेको थिएन । प्राविधिक विषयहरू, सुरक्षा तथा हवाई क्षेत्रको व्यवस्थापनसम्बन्धी विषयमा दुई देशबीच मतभिन्नता रहँदै आएको थियो ।
बालेन शाहको भारत भ्रमणमा यो विषयलाई प्राथमिकतामा राखिएको थियो । भ्रमणअघि नै दुवै देशका अधिकारीबीच यसबारे छलफल भइरहेको थियो । हवाई रुटमा सहमति जुट्नु नेपालको हवाई पूर्वाधारमा भएको ठूलो लगानीको प्रतिफल प्राप्त गर्ने दिशामा पनि महत्त्वपूर्ण सुरुवात हुनेछ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरे पनि पर्याप्त अन्तर्राष्ट्रिय उडान रुटको अभावमा अपेक्षित व्यावसायिक गतिविधि हुन नसकेको अवस्थामा यसले नयाँ सम्भावना खोल्न सक्छ । १२ वर्षदेखि कूटनीतिक टेबलमा थन्किएको भैरहवा हवाई प्रवेशमार्गको सहमति दिलाएर र सुरक्षा संवेदनशीलतामा सम्झौता नगरी बागडोग्रा रुटको प्रस्ताव अस्वीकार गरेर प्रधानमन्त्री बालेन शाहले दिल्ली भ्रमणलाई परिणाममुखी र ऐतिहासिक बनाएका छन् ।
ओली, देउवा र प्रचण्डले दशकौँसम्म नसकेको काम प्रधानमन्त्री बालेनले एकै भ्रमणमा गरे फत्ते
मोदीले स्वीकारे नेपाल भ्रमणको निम्तो, कूटनीतिक माध्यमबाट भ्रमणको मिति तय गरिने
सरकारको आग्रह : मोबाइलमा हाइ–अलर्टको सूचना आउन सक्छ, नआत्तिनुहोस्
भारतको २ खर्ब ४० अर्ब सहयोगमध्ये १ खर्ब ८४ अर्ब ऋण, ब्याजदर भारतीय रुपैयाँमा
मोदीको बालेनलाई विशेष उपहार : गुजराती सादेली बाकसमा बनारसी रेशमी दोसल्ला
प्रधानमन्त्री बालेनको भारत भ्रमणका तीन प्रमुख उपलब्धि : यस्ता छन् ‘मेजर आउटकम’
नेसनल मेडिकल कलेजका प्रथम वर्षका आवासीय चिकित्सकद्वारा सामूहिक राजीनामा
राजघाटमा प्रधानमन्त्री बालेनको सन्देश : नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन गान्धीका आदर्शले मार्गदर्शन गरून्
प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा राजकीय सम्मान, मोदीले गरे न्यानो स्वागत
प्रधानमन्त्री शाह र भारतीय समकक्षीबिच भेटवार्ता
प्रतिक्रिया