काठमाडौँ — नेपाली कांग्रेसभित्र सहमति जुटाउने प्रयास जारी छ। विशेष महाधिवेशन पक्षधरले अघि सारेका विभिन्न प्रस्तावबारे सोमबार राति अबेरसम्म छलफल भए पनि ठोस निष्कर्ष निस्कन सकेको छैन।
संवादमा संलग्न नेताहरूले सहमतिका लागि प्रयास अझै जारी रहने बताएका छन्।
भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनको तेस्रो दिन आज बन्दसत्र आयोजना हुँदैछ। बन्दसत्रमा महामन्त्रीहरूको प्रतिवेदनमाथि सुझाव संकलन र पारित गर्ने, विधान संशोधन गर्ने, निर्वाचन समिति लगायतका विभिन्न समिति भंग गरी नयाँ समिति गठन गर्ने तथा निर्वाचन कार्यक्रमलाई अगाडि बढाउने कार्यसूची रहेको छ। नयाँ नेतृत्व चयनको तयारीमा महाधिवेशन प्रतिनिधिहरू जुटिरहेका बेला सहमति भने अझै ‘पावर सेयरिङ’मै अड्किएको देखिन्छ।
विशेष महाधिवेशन पक्षधरले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफूहरूको सम्मानजनक र न्यायोचित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग अघि सारेका छन्। उनीहरूले संसदीय बोर्डमा सहभागिता र आगामी निर्वाचनमा ४० प्रतिशत टिकट सुनिश्चित गर्नुपर्ने अडान राखेका छन्। वार्तामा सहभागी एक नेताले नेपाल प्रेससँग भने, “सम्मानजनक न्यायोचित प्रतिनिधित्व भन्नाले विशेष महाधिवेशन पक्षधरले कम्तीमा ४० प्रतिशत टिकट पाउनुपर्छ भन्ने प्रस्ताव आएको हो।”
ती नेताका अनुसार विशेष महाधिवेशन पक्षधरले आगामी निर्वाचनमा कसैसँग पनि चुनावी तालमेल नगर्ने स्पष्ट अडान लिएका छन्। कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाउनुपर्ने र त्यसमा कम्तीमा ४० प्रतिशत विशेष महाधिवेशन पक्षधरको सहभागिता हुनुपर्ने उनीहरूको माग छ। “१६५ निर्वाचन क्षेत्रमा उम्मेदवार तय गर्दा करिब ६६ जना विशेष महाधिवेशन पक्षधर हुनुपर्छ भन्ने कुरा आएको छ,” ती नेताले बताए।
विशेष महाधिवेशन पक्षधर नेताहरूले महाधिवेशन प्रतिनिधिहरूको अपमान संस्थापन पक्षबाट भएको आरोप लगाउँदै सहमतिका लागि सम्मानजनक व्यवहारलाई न्यूनतम शर्तका रूपमा अघि सारेका छन्। विशेष पक्षधर केन्द्रीय सदस्यले भने, “विशेष महाधिवेशनमा सक्रिय भएकै कारण भविष्यमा कसैप्रति पूर्वाग्रह हुनु हुँदैन। त्यसैले संसदीय बोर्ड र प्रत्यक्ष निर्वाचन दुवैमा हाम्रो सशक्त उपस्थिति आवश्यक छ।”
उनले गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको समूह र डा. शेखर कोइरालाको नेतृत्वमा रहेको समूहलाई फरक ढंगले बुझ्नुपर्ने धारणा राखे। “डा. शेखर कोइराला अहिले संस्थापन पक्षमै हुनुहुन्छ। उहाँको व्यवस्थापन संस्थापनले नै गर्नुपर्छ। विशेष महाधिवेशन पक्षधरहरू कांग्रेसभित्रको फरक शक्ति हुन् भन्ने कुरा स्वीकारिनुपर्छ,” उनले भने।
यसका अतिरिक्त विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, महाधिवेशनका निर्णयहरू स्वीकार गर्नुपर्ने, तथा पार्टी सुधारका लागि महामन्त्रीहरूले प्रस्तुत गरेका प्रस्तावहरूलाई ग्रहण गर्नुपर्ने लगायतका माग पनि अघि सारेका छन्।
प्रतिक्रिया