२४ माघ २०८१
काठमाडौं- बिहिबारको बैठकमा संघीय संसदका दुवै सदनमा अध्यादेशहरू निर्णयार्थ पेस गर्ने सरकारको तयारी थियो । तर, एकाएक सरकार आफ्नो तयारीबाट ब्याक भयो । यसपछाडीको मुख्य कारण थियो, अध्यादेश फेल हुने त्रास ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका अध्यादेशहरू पारित गराउनका लागि सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेसँग प्रतिनिधिसभामा झन्डै २ तिहाइ मत छ । तर, राष्ट्रिय सभामा बहुमत पु¥याउन सत्तापक्षलाई जनता समाजवादी पार्टी (जसपा) नेपालको साथ चाहिन्छ । ५९ सदस्यीय राष्ट्रियसभामा अध्यादेश स्वीकार गर्न बहुमत अर्थात् कम्तीमा ३० सांसदको समर्थन आवश्यक पर्छ ।
राष्ट्रिय सभामा अध्यादेशको पक्षमा रहेका कांग्रेसका १६, एमालेका १०, मनोनीत २ र लोसपाका १ गरी २९ सांसद छन् । यस्तै विपक्षमा नेकपा माओवादी केन्द्रका १७, नेकपा एकीकृत समाजवादीका ८ र राष्ट्रिय जनमोर्चाका १ गरी २६ सांसद छन् । अध्यादेशबारे निर्णय गरिनसकेको जसपा नेपालका राष्ट्रियसभामा ३ सांसद छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत पुसमा जारी गरेका ६ अध्यादेश पास गराउन माथिल्लो सदनमा जसपा निर्णायक छ । तल्लो सदनमा कांग्रेस–एमालेको बहुमतले सजिलै पास हुन्छ । तर माथिल्लो सदनमा अध्यादेश पास वा फेल गराउने खेलका निर्णायक जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव छन् । उनले बिहिबार ठोस निर्णय नगरेपछि सरकार संसद्मा अध्यादेश पेश गर्ने तयारीबाट पछि हट्यो ।
अध्यादेशको समर्थन गर्ने की विरोध भन्ने विषयलाई उपेन्द्र यादवले भने सत्ता बार्गेनिङको विषय बनाएका छन् । कार्यदल बनाएर नाटक मञ्चन गरेका उनले अन्ततः अध्यादेशको समर्थनका लागि गृह, स्वास्थ्य मन्त्रालयसँगै मधेश प्रदेशको मुख्य मन्त्री मागेका छन् ।
सरकारलाई समर्थन दिए पनि जसपा नेपाल अहिले सरकारमा छैन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेश पारितका लागि जसपा नेपालसँग सहयोग मागिरहेका छन् । यादवले अध्यादेश पारित गर्न निर्णायक भएपछि मधेश प्रदेशको मुख्यमन्त्रीमा बार्गेनिङ गरेको बताइएको छ ।
बिहिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनीसँग भेट गरेका थिए । भेटका क्रममा पुसमा जारी गरिएका ६ वटा अध्यादेशका संसद्बाट पारित गर्नका लागि उनीहरुले यादवसँग सहयोग मागेका थिए । जवाफमा यादवले प्रधानमन्त्री र कांग्रेस सभापतिलाई उपप्रधानसहित स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालय मध्ये एक मन्त्रालय दिन प्रस्ताव गरेका छन् । यदि यी दुईमध्ये एक मन्त्रालय नदिने भए मधेस प्रदेशको मुख्यमन्त्री मागेको प्रधानमन्त्री प्रधानमन्त्री ओलीनिकट एक नेताले बताएका छन् । अहिले मधेश प्रदेशमा जनमत पार्टीले सरकारको नेतृत्व गरिरहेको छ ।
मिले केन्द्रमा नमिले मधेस सरकारको नेतृत्व मागेका यादवलाई प्रधानमन्त्री र सभापतिले ठोस जवाफ दिन सकेनन् । यद्यपी अध्यादेश पास गर्नकै लागि भएपनि मिलेर अघि बढ्नु पर्नेमा उनीहरु सहमत देखिएका छन् । जुन कुरा कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले खुलाएका छन् । उनले बैठकपछि सञ्चारकर्मीसँग भनेका छन्– 'जसपा नेपालले अध्यादेश पास गर्न सहयोग गर्ने सहमति भएको छ।' के शर्तमा भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने– 'अहिले शर्तका पछाडी नलागौ, जे होस सहमती भयो ।'
सत्ता पक्षको बेञ्चमा रहेको जसपा नेपालले सरकारले ल्याएको अध्यादेशको समर्थन गर्ने एमालेका प्रमुख सचेतक महेश बर्तौताले बताएका छन् । उनका अनुसार आइतबार वा सोमबार सम्ममा अध्यादेश पारित हुनसक्छ । अध्यादेश निर्णयार्थ पेश गर्न करिब ३ दिनको समय लिनुको मुख्य कारण सत्ता बार्गेनिङ मिलाउन नै हो भनेर बुझ्न गाह्रो छैन् ।
जसपा नेपालका नेताहरुले भने आफूहरु सत्ता बार्गेनिङमा नरहेको दाबी गरेका छन् । उनीहरुले अध्यादेशमा भएका केहि कमिकजोरी सञ्चाउनु पर्ने पक्षमा आफूहरुले प्रधानमन्त्री र कांग्रेस सभापतिसँग छलफल गरेको जिकीर गरेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी अध्यादेश, सञ्चार तथा सूचना प्रविधिसम्बन्धी र अन्य केही अध्यादेशमा संशोधन गर्नुपर्ने अडान राखेको बताइएको छ । अध्यादेश संसोधन सँगै मन्त्री पद समेत मागेको स्रोतले दाबी गरेको छ ।
अध्यादेशका विषयमा जसपा नेपालले सत्ता बार्गेनिङ गरिरहदा माओवादी केन्द्र नेतृत्वको विपक्षी गठबन्धन भने अध्यादेश असफल बनाउन सक्रिय भएको छ । त्यसका लागि प्रचण्डले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सम्वाद थालेका छन् । तर यादव आफ्नो पार्टी फुटाइदिएको भन्दै प्रचण्डसँग रिसाएका छन् । उनी समाजवादी मोर्चा छाडेर हिँडेको लामो समय भएको छ । त्यसैले उनी कुरा मिल्ना साथ अध्यादेशको पक्षमा उभिने सम्भावना बलियो देखिन्छ ।
अझै सुरु भएन एमाले निर्वाचन
मधेसका पूर्वसभामुख र पूर्वमुख्यमन्त्री दुवै एकै क्लस्टरबाट एमाले केन्द्रीय सदस्यका उम्मेदवार
रोजेको मन्त्रालय नपाएपछि मधेश सरकारबाट बाहिरिने जनमतको चेतावनी
एमाले महाधिवेशन : ईश्वर पोखरेल पुगे मतदानस्थल
दुई प्यानल भएपछि महाधिवेशनमा उठ्न चाहिनँ : विद्या भट्टराई
एमालेको अध्यक्ष बन्न ओली र पोखरेलले दिए उम्मेदवारी
ओली प्यानलमा नपरेका नेतालाई पदाधिकारीमा समेट्न ईश्वर पोखरेल पक्ष सक्रिय
महानगरको प्राथमिकतामा खर्च कटौती: बालेन
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
ओली र इश्वरले टुंगो लगाए उम्मेदवारको नाम, महासचिवमा सुरेन्द्र र शंखर भिड्ने
प्रतिक्रिया