२० वैशाख २०८२
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्रस्तुत गरेका दर्जनौं तथ्यांक झुट्टा रहेको निष्कर्षसहित नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गरेका छन् । शाक्य आएको १ महिनापछि शुक्रबार विद्युत् प्राधिकरणले श्वेतपत्र सार्वजनिक गर्यो जहाँ कुलमानले आफ्नो कार्यकालमा थुप्रै बद्मासी गरेको उल्लेख गरिएको छ ।
कुलमानले प्राधिकरणको नाफा, दायित्व, आम्दानी लगायतका तथ्यांक तथ्यमा आधारित भएर प्रस्तुत नगरेको निष्कर्ष शाक्यले सार्वजनिक गरेको श्वेतपत्रले निकालेको छ । कुलमानले भन्दै आएका कुरा झुटा हुन् भन्ने प्रमाणित गर्न शाक्यले महालेखा परीक्षकको प्रतिवेदनलाई आधार बनाएका छन् ।
श्वेतपत्र केलाउने हो भने कुलमान र शाक्यले प्रस्तुत गरेको तथ्यांकमा आकाशपातालको अन्तर देखिन्छ । श्वेतपत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा दुईले प्रस्तुत गरेको तथ्यांक किन यति धेरै फरक देखियो ? भन्ने प्रश्नमा कार्यकारी निर्देशक शाक्यले भने, ‘यसअघि प्रस्तुत तथ्यांक सबै असत्य हुन् भनेर मैले भन्दिन । तर, कतिपय तथ्यलाई त्यो बेलामा सही ढंगमा विश्लेषण नगरिएको (उचित ट्रिट नगरिएको) देखिन्छ ।’
पत्रकार सम्मेलनका क्रममा शाक्यले कसैको विरोध गर्न वा कसैलाई नराम्रो देखाउनका लागि भन्दा पनि प्राधिकरणको वास्ताविकता देखाउका लागि श्वेतपत्र जारी गरेको बताए । विगतमा भनेजस्तो प्राधिकरणको आर्थिक स्थिति मजबुद नरहेको र वित्तीय अवस्थामा संकुचित अवस्थामा रहेको विषय शाक्यले पटकपटक दोहोरर्याए ।
‘नेपाल विद्युत् प्राधिकरणले हालसम्म हासिल गरेको उपलब्धि र वर्तमान अवस्था प्रस्तुत गर्न श्वेतपत्र जारी गरेको हो । यसले प्राधिकरणको अवसर, चुनौतिको विश्लेषण गर्दै भावी योजना तय गर्न मद्दत गर्ने छ,’ शाक्यले भने, ‘यसका अलावा श्वेतपत्र जारी गर्नुको अर्को कुनै उद्देश्य छैन ।’ उनले प्राधिकरणको वास्ताविक अवस्था पहिचान गर्दै सुधारको काममा लाग्ने दाबी गरे ।
यसअघि प्राधिकरणको अवस्थाबारे तथ्यमा आधारित भएर सही विश्लेषण नगरिएकाले वास्ताविक चित्र देखाउन श्वेतपत्र ल्याउनुपरेको जिकिर उनको छ । तर, श्वेतपत्र कुलमानले बताउँदै आएका तथ्यांकलाई गलत देखाउन बढी केन्द्रीत भएको देखिन्छ । प्राधिकरणका धेरै विषयमा शाक्यले महालेखा परीक्षकको प्रतिवेदनसँग जोडेर यसअघि गलत सूचना प्रवाह गरिएको स्पष्ट पारेका छन् ।
५ अर्ब नाक्सानीको प्राधिकरणलाई नाफामा देखाइएको तर्क
शुक्रबार श्वेतपत्र जारी गर्दै नोक्सानीमा रहेको संस्थालाई कुलमानले नाफामा देखाएको बताइएको छ । आर्थिक वर्ष २०८०/८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आवको फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड भएको छ । तर, आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको श्वेतपत्रमा उल्लेख छ ।
यस्तो झुट विवरण देखाइएकाले महालेखाको प्रतिवेदन अनुसार लेखापरीक्षण प्रतिवेदनमा औल्याईएका बुँदाहरु मध्ये संस्थाले ७ अर्ब १९ करोड खर्च नलेखेको र ४ अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढि लेखाङ्कन गरेको तथा २९.९१ करोड आम्दानी नबाँधेको उल्लेख छ । समग्रमा २०८०/८१ मा देखाएको नाफा नोक्सान हिसाबमा थप समायोजन गरी नाफा नोक्सान कायम गर्नुपर्ने जनाइएको छ । यसमा सम्भावित दायित्व समेत वापत हुन आउने नोक्सानी संलग्न नगरिएको शाक्यले बताएका छन् ।
कुलमानले प्रक्षेपित आयमा विद्युत बिक्रीको अनुमान बढी राखेको दाबी
सार्वजनिक श्वेतपत्रमा आर्थिक वर्ष २०८१/८२ का लागि प्राधिकरणको प्रक्षेपित आयको स्रोत १ खर्ब ९९ अर्ब २ करोड छ तर २०८१/८२ को स्वीकृत बजेट खर्च २ खर्ब २८ अर्ब ७७ करोड रहेको जनाइएको छ ।
उक्त बजेट घाटा २९ अर्ब ७५ करोड मध्ये १४ अर्ब ६५ करोड रकम नेपाल सरकारबाट विगतका वर्षहरुको शोधभर्ना पाउनुपर्ने, ८ अर्ब २६ करोड डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता असुलिबाट पाउने र बाँकी१० अर्ब बराबरको ऋणपत्र जारी गरी परिपूर्ति गर्ने गरी बजेटमा नगद प्रवाहको अनुमान गरिएको थियो ।
तर, प्रक्ष्येपित आयमा विद्युत बिक्रीको अनुमान बढी राखिएको तर्क शाक्यद्वारा सार्वजनिक श्वेतपत्रमा उल्लेख छ । गत असोजको बाढीबाट विभिन्न उत्पादन केन्द्रमा भएको क्षतिका कारण निर्यात घटेको र आन्तरिक बिक्री समेत कम हुन गएबाट वास्तविक बिक्री करिब १८ अर्ब न्यून हुने देखिएको आँकलन प्राधिकरणको छ ।
सम्पत्तिको अवस्था गलत तथ्यांक दिइएको हितेन्द्रको आरोप
कार्यकारी निर्देशक शाक्यले तत्कालीन कार्यकारी निर्देशक शाक्यले देखाएको प्राधिकरणको सम्पत्तिको अवस्था फरक रहेको प्रष्ट्याएका छन् । प्राधिकरणको वार्षिक प्रतिवेदनअनुसार आव २०८०/८१ सम्ममा कुल सम्पत्ति करिब ६ खर्ब ४४ अर्ब रहेको थियो । यस्तै, स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब र करिब २ खर्ब २० अर्ब बराबरका निर्माणाधीन आयोजनाहरु रहेको उल्लेख थियो ।
तर, प्राधिकरणले देखाएको उक्त तथ्यांकमा असहमति राख्न शाक्यले महालेखा परीक्षकको प्रतिवेदनलाई अगाडि सारेका छन् । शाक्यले नेपाल विद्युत् प्राधिकरणको लामो समयदेखि सम्पत्तिको भौतिक परीक्षण नभएको तथा प्रचलित अभ्यास र फम्र्याट अनुसार सम्पत्तिको रेकर्ड नराखिएको, स्थिर सम्पत्तिको लेखा सफ्टवेयर भन्दामा ३७.१६ करोड कम रकम लेखांकन भएको श्वेतपत्रमा समेटेका छन् ।
स्थिर सम्पत्तिको एएमएस/सिएआईएसको रिकंसिलेसन नभएको, गत आवमै नष्ट गरी सकेको ७.५८ करोडको सम्पत्ति यस आव २०८०/८१ मा पनि रेकर्डबाट हटाउनु पर्नेमा नहटाईएको, २१७९ रोपनी जग्गा रेकर्डमा देखाईएता पनि संस्थाको नाममा लालपुर्जा नभएको, २४.१२ अर्ब बराबरको सम्पत्ति पुँजीकरण कुनै आधार बिना नै गरिएको र सो को भौतिक परिक्षण पनि गर्न नसकिएको श्वेतपत्रमा उल्लेख छ ।
प्राधिकरणको आर्थिक वर्ष २०८०/८१ मा स्थिर सम्पत्तिमा ह्रास समायोजन ४४.३४ करोड गरेको तर सोको समायोजन संस्थाको स्थिर सम्पत्तिमा नगरेकोले संस्थाको यथार्थ सम्पत्ति कायम हुन नसकेको,१.५१ अर्बको सिडब्लुआईपी पत्ता लाग्न नसकेको, परियोजना सम्पन्न भइसकेपछि पनि ८.१६ अर्बको सम्पत्तिलाई स्थिर सम्पत्तिमा पुँजीकरण गर्नुपर्नेमा नगरिकन सिडब्लुआईपीमै देखाइएको शाक्यको आरोप छ ।
शुक्रबार जारी श्वेतपत्रमा हिनामिना भएको नगद ५७.१ लाखलाई अन्य ऋण तथा पेश्कीमा देखाइएको तर सो रकमलाई नाफा नोक्सान हिसाबमा खर्च लेखुपर्नेमा नलेखेको, विगत लामो समयदेखि २५.८१ करोडको नगदलाई मार्गस्थ नगद भनि देखाइएको जनाइएको छ ।
यस आवमा पनि ३.९९ करोड नगदलाई पनि कुनै प्रमाण विना मार्गस्थ नगद भनि देखाएको, विगत लामो समयदेखि कुनै कारोबार बिना नै ३८.४० करोड ठेकेदारलाई पेश्की दिएको रकम वासलातमा देखिएको र सो रकम प्राप्त हुनेमा शंका भएको, २.८८ अर्ब बराबरको प्राप्त गर्नु पर्ने आसामी पत्ता लाग्न नसकेको कमजोरी शाक्यले देखाएका छन् ।
अनुसन्धान समितिले छानबिन गरी मौज्दात (स्टक) मा कमि औंल्याइ समायोजन गर्नुपर्ने भनि एकिन गरेको ७.४१ करोड र एम्पाएरमेन्ट लस व्यवस्था गर्नु पर्ने रकम ३.३४ करोडलाई नाफा नोक्सान हिसाब र मौज्दात (स्टक) मा समायोजन नभएको श्वेतपत्रमा उल्लेख छ ।
कुलमानले देखाएको भुक्तानी हुन बाँकी दायित्व विश्वासिलो नभएको दाबी
शाक्यले जारी गरेको श्वेतपत्रमा चालु आवको फागुन मसान्तसम्म भएको ठेक्का पट्टा अन्तर्गत भुक्तानी हुन बाँकी बिलहरुको परिमाण ११ अर्ब ६१ करोड रहेको देखिाइएको छ जुन भुक्तानी हुन सकेको छैन ।
प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात रहेको करिब१० अर्ब १० करोड रकम मध्ये डलर/नेपाली रुपैयाँ मुद्दती खातामा ३ अर्ब ६८ करोड र धरौटी खातामा ३ अर्ब ९५ करोड रहेको उल्लेख छ । २ अर्ब ४७ करोड कल/चालु खातामा रहेको छ जुन दैनिक संचालनको लागि न्यूनतम जगेडा भएको प्राधिकरणको निष्कर्ष छ ।
निर्माण कार्यको बाँकी भुक्तानीको लागि जगेडा नरहेको हँदा १० अर्ब सम्म अल्पकालिन ऋण लिने प्रक्रियामा प्राधिकरण अगाडि बढीसकेको छ । नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको ब्याज २९.५ अर्ब र टनकपुर विद्युत बापत ३ अर्ब गरी कुल ३२.५ अर्ब दायित्व बाँकी रहेको देखाइएको थियो ।
यसमा पनि महालेखा परीक्षकको प्रतिवेदनका सहारा लिएर यस संस्थाले विभिन्न शिर्षकमा देखाएको दायित्व१.५३ अर्ब कसको दायित्व हो भनि एकिन गर्न नसकिएको तथा रिकंसिलेसन पनि गर्न नसकेको कमजोरी औंल्याइएको छ । गत आर्थिक वर्षसम्म एक्चुरीयल भ्यालूएसन अनुसार कर्मचारीलाई अवकास भुक्तानी गर्दा दिनुपर्ने दायित्व ४८.८७ अर्ब रहेकोमा सो भुक्तानी गर्न संस्थाले ८१.०२ करोड मात्र रकम छुट्टाएकोले बाँकी रकम ४८.०६ अर्ब कुन श्रोतबाट भुक्तानी गर्ने भन्ने संस्थासंग योजना नभएको अवस्था पनि श्वेतपत्रामा देखइएको छ ।
आर्थिक वर्ष २०६२/६३ देखि तिर्नुपर्ने दायित्व व्यवस्था अन्तर्गत ५३.६५ करोड वित्तीय विवरणमा देखाउँदै आएको तर प्रचलित लेखा मापदण्ड अनुसार सो रकम तिर्न नपर्ने देखिएमा पुनर्लेखन गर्नुपर्नेमा सो समायोजन हालसम्म नगरेको पनि श्वेतपत्रमा उल्लेख छ ।
अप्रिलमा पर्यटकको ओइरो, भित्रिए एक लाख १६ हजार विदेशी
बलियो सरकारको हलुका नीति तथा कार्यक्रम, यस्ता छन् मुख्य ११ बुँदा
राष्ट्र बैंकको कारबाहीमा पाँच वाणिज्य बैंक, किन गरियो स्ट्याण्डर्ड चार्टर्डलाई पौने १५ करोड जरिवाना ?
कुलमानका कमजोरी औल्याउँदै हितेन्द्रले जारी गरे स्वेतपत्र, सम्पत्तिको गलत तथ्यांक दिइएको आरोप
अब बैंक तथा वित्तीय संस्थामा श्रम ऐन नलाग्ने
बालयौन दुरुपयोगमा दोषी ठहर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
कीर्गिस्तानविरुद्ध नेपालको संघर्षपूर्ण जित
३१ महिनामा सहकारीको २८ अर्ब ठगी, २४२ वटा मुद्दा दर्ता
ठमेल काण्डः अखिल नेतालाई उन्मुक्ति दिन प्रहरीसँग खोसिएको थियो पक्राउ लिष्ट
श्रीमान अष्ट्रेलियामा, श्रीमती हनी ट्रयापिङको धन्दामा, होटल पुगेर १० लाखको बार्गेनिङपछि खुल्यो पोल
प्रतिक्रिया