काठमाडौं – वीरगन्जमा हैजा संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ। आइतबार थप ३६ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ७८ पुगेको छ। तीमध्ये नौ जनाको आइसियूमा उपचार भइरहेको छ। संक्रमण फैलिनुको प्रमुख कारण नाला र ढलको दूषित पानी हुन सक्ने आशंका गरिएको छ।
स्वास्थ्य कार्यालय पर्साले ११ स्थानको खानेपानीको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएको छ। परीक्षण रिपोर्ट सोमबार आउने अपेक्षा गरिएको छ।
सबैभन्दा बढी प्रभावित वडा नं. १२ मा खानेपानीको पाइप हटाउने काम सुरु गरिएको छ भने अन्य वडामा पनि सो कार्य विस्तार गरिनेछ।
महानगरपालिकाले जनचेतना फैलाउन २६ वटा टोली परिचालन गरेको छ। मधेश प्रदेश सरकारले १७ प्रकारका औषधि र सामग्री नारायणी अस्पतालमा पठाएको छ। महामारी नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गर्दै काम भइरहेको जनाइएको छ।
प्रतिक्रिया