०२ मंसिर २०८३
काठमाडौं- दशकौंदेखि मारवाडीहरुले गोरख धन्दा चलाइरहेको, प्रधानमन्त्री बालेन शाहले हटाउन चाहेर पनि नसकेको पशुपति गौशाला धर्मशाला अन्ततः मारवाडीहरुबाट खोसिएको छ। मारवाडी सेवा समितिले भगवान पशुपतिनाथको जग्गा कब्जा गरेर व्यापार चलाइरहेको गौशाला धर्मशालालाई खाली गराउने बाटो सर्वोच्च अदालतले खोलिदिएको छ ।
हालका प्रधानमन्त्री बालेन शाह काठमाडौंको मेयर हुँदा गौशला धर्मशाला मारवाडीहरुबाट खोस्न निकै प्रयत्न गरेका थिए । उनले डोजर चलाएर हटाउने प्रयत्न गर्दा मारवाडी सेवा समितिका मान्छेहरुले ढुंगामुडा गरेर रोकेका थिए भने पछि अदालत गएर अल्झाउँदै आएका थिए । अन्ततः सर्वोच्च अदालतले बालेन शाहको त्यो अभियानमा साथ दिएसँगै गौशाला धर्मशाला मारवाडीहरुबाट खोसिएको छ।
२०८३ वैशाख २१ गतेको उच्च अदालत पाटनको फैसला सदर गर्दै सर्वोच्च अदालतले २४ वर्षदेखि मारवाडी सेवा समितिले हडपेको साविक पशुपति वडा नं। २ को कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई दाम र कित्ता नम्बर ८५ को चार रोपनी १० आना जग्गामा समितिको मोही हक नलाग्ने ठहर गरेको छ । पाटन उच्च अदालतले पनि वैशाख २१ गते काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्दै यससँगै पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामीत्व पशुपति क्षेत्र विकास कोषमै फिर्ता हुने फैसला गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले ‘मुद्दा दोहो¥याइ हेरी पाऊँ’ भनि मारवाडी सेवा समितिले दायर गरेको रिटमा सुनुवाइ गर्दै ‘उच्च अदालत पाटनबाट २०८३ वैशाख २१ गते भएको फैसलामा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा १ को खण्ड क र ख को अवस्था विद्यमान नदेखिँदा मुद्दा दोहो¥याइ हेर्न अनुमति प्रदान गर्न मिलेन । कानूनबमोजिम गर्नू’ भन्ने आदेश जारी गरेको छ ।
भगवान पशुपतिनाथको स्वामीत्वमा रहेको पशुपति गौशाला धर्मशाला एक दशकको न्यायीक संघर्षपछि न्यायालयबाटै फिर्ता भएको भन्दै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तिर्थ प्रधानले खुसी ब्यक्त गरे । अब यसलाई खाली गराउने प्रक्रिया अघि बढाउने, अब पनि नछाडे डोजर लगाएर खाली गराउने उनको भनाइ छ । यसअघिका प्रयास अदालती मुद्दाका कारण सफल हुन नसके पनि अब भने बाटो क्लियर भएको छ ।
वार्षिक रुपमा ५१ हजार तिरेर गौशला धर्मशालाबाट मारवाडी सेवा समितिले झन्डै ५ करोड आम्दानी गर्दै आएको थियो । गौशाला–चाबहिल सडकसँगै जोडिएको धर्मशालाको भवन बाहिर पट्टी १९ वटा सटरहरु छन् । मारवाडी सेवा समितिले यी सटरबाट लाखौँ कमाइरहेको थियो । उसले १२ सटर औसत ३५ हजार र सात सटर औसत ३० हजारका दरले भाडामा लगाएको थियो ।
धर्मशालामा वास बस्नका लागि दुई सय ७० वटा कोठा छन् । प्रतिकोठाको शुल्क चार सयदेखि एक हजारसम्म तोकिएको छ । २० बेड रहेको हलको शुल्क दुई हजार पाँच सय तोकिएको छ । मारवाडी सेवा समितिका अनुसार अटेच बाथरुमसहितका कोठाको प्रतिदिन आठ सय, साधारणको पाँच सय, साधारण साना कोठाको चार सय, नयाँ भवनमा बनाइएका साधारण कोठाको ६ सय, बी–४३ कोठाको एक हजार र टायल कोठाको सात सय शुल्क तोकिएको छ । यसबाट मात्रै मासिक ३० लाखसम्म भाडा उठ्छ । अझै यहाँ पशुपति दर्शन गर्न आउनेहरु होइनन् मेनपावर ब्यवसायीका मान्छेहरु बस्ने गरेका छन्।
गौशला धर्मशालाको आम्दानी यतिमा मात्रै सिमित थिएन । यहि धर्मशालाको उत्तरतिर गौशाला छ, जहाँ दुई सय गाई पालिएका छन् । जसबाट वार्षिक रुपमा ढेड करोडभन्दा धेरै आम्दानी हुने गरेको छ । ताकी सम्झौता अनुसार गाई होइन यहाँ पशुपतिनाथमा छाडिएका साँढे पाल्नु पर्ने थियो । तर, साँढे छाडेर गाइ पाल्दै माडवारीहरुले दूधको ब्यापार गरिरहेका छन् । यसरी वार्षिक रुपमा ५ करोडभन्दा धेरै आम्दानी गर्ने मारवाडी सेवा समितिले पशुपति क्षेत्र विकास कोषलाई वार्षिक रुपमा जम्मा ५१ हजार रुपैयाँ मात्रै तिर्दै आएको थियो । यसरी भगवान पशुपतिको सम्पत्तिमा रजाइँ गरेर करोडौं खादै आएका मारवाडीहरुको अन्ततः यहाँबाट उठिबास लाग्ने निश्चित भएको छ ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया