२४ माघ २०८१
काठमाडौं– माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिखेर कोहीसँग सबैभन्दा धेरै झस्किरहेका छन् भने ति हुन् आफ्नै पार्टीका नेता जनार्दन शर्मा ।
जसले पार्टी बैठकहरुमै नेतृत्वको आलोचना मात्रै गर्न थालेका छैनन् विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नु पर्ने आवाज समेत उठान थालेका छन् । अझै विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमार्फत शर्माले आफ्नो गुटको सशक्त उपस्थिति देखाएर प्रचण्डलाई झड्का दिएका छन् । विद्यार्थी संगठनको बहुसंख्यक पदाधिकारी आफ्नो पोल्टामा पार्न शर्मा सफल भएका छन् । पार्टीमा अब अध्यक्ष प्रचण्डको मात्रै मनोमानी नरहने प्रष्ट सन्देश निर्वाचन परिणामबाट दिएका छन् ।
आफूलाई झड्का दिनेगरी उपमहासचिव जनार्दन शर्मा उदायपछि प्रचण्ड यतिखेर पार्टी भित्रैबाट खतरा महशुस गर्न थालेका छन् । वर्षौंदेखि अनेक तिकडम गरेर नेता व्यवस्थापन गर्दै आएका ‘प्रचण्ड’ ले जर्नादनबाट थ्रेट महशुस गरेपछि उनलाई साइजमा राख्न अनेकन हर्कत गर्न थालेका छन् । उनले पार्टीका नेता कार्यकर्तालाई आफूअनुकुल राख्न जिम्मेवारी हेरफेर गर्नेदेखि डिफेन्ससम्ममा उतारेका छन् ।
जुन कुरा उनले सोमबार आफू निकटका ब्यक्तिहरुलाई मात्रै विभिन्न प्रदेश इन्चार्जको जिम्मेवारी दिएर त्यसको प्रष्ट झल्को दिएका छन् । कोशीमा उपमहासचिव हरिबोल गजुरेल, मधेश प्रदेशमा उपमहासचिव मातृका यादव, बागमती प्रदेशमामा सचिव हितमान शाक्य, गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्ज बनाएको छ । यस्तै, विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, यूरोप अमेरिका इन्चार्जमा राम कार्की र एसियामा ओम शर्मा तोकिएका छन् ।
सबैजसो इन्चार्जहरु प्रचण्डले आफू निकटका ब्यक्तिलाई मात्रै बनाएका छन् । यति मात्रै होइन प्रचण्डले जनार्दनलाई साइजमा राख्न पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि पार्टी राजनीतिमा सक्रिय बनाएका छन् । आर्थिक तथा उत्पादन विभागको जिम्मा दिदै औपचारिक रुपमा पार्टी राजनीतिमा फर्काएका छन् । उनलाई पार्टीमा सक्रिय गराउनु् पछाडीको मुख्य कारण प्रचण्डले पुनलाई आफ्नो उत्तराधिकारी बनाउन खोजेका अड्कलबाजी हुन थालेको छ।
दुई उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुनको शक्ति संघर्षले तनाव भोगिरहेका प्रचण्डले महासचिव समेत देव गुरुङलाई बनाएर दुबैलाई हिस्स पारेका थिए । अब पूर्व राष्ट्रपति पुनलाई सक्रिय राजनीतिमा ल्याएर फेरि दुबैलाई झड्का दिएका छन् ।
त्यसो त जनार्दनको गतिविधिबाट झस्किएका प्रचण्डले उनलाई साइजमा राख्न कार्यकर्तालाई उतार्ने तयारी समेत गरेका छन् । प्रचण्डलाई चुनौती दिएको भन्दै उनी निकट नेता कार्यकर्ताले जनार्दनलाई लखेट्न सुरु गरेका छन् । जनार्दनले पकड बढाउँदै लैजाँदा ‘हेडक्वार्टर’ नजिकका नेताहरुले प्रतिवाद गर्न थालेका छन् ।
जनार्दनले आफू निटकहरुको गोप्य भेलासमेत आयोजना गरेको चर्चा चले पछि माओवादी केन्द्रीय सदस्य ओमकुमारी पौडेलले शर्माको नामै नलिई प्रस्ट बुझिने भाषामा नेतृत्वविरुद्ध मिडिया ट्रायल र भोजभतेर गरेको आरोप लगाएकी छन् । प्रचण्ड प्रधानमन्त्री रहेका बेला प्रधानमन्त्रीको जनसम्पर्क विज्ञको भूमिकामा रहेकी पौडेलले फेसबुकबाटै शर्माप्रति कटाक्ष गर्दै अर्थमन्त्री भएका बेला सिसिटिभीको तार मुसाले काटेको जस्तै अहिले पार्टीको मेरुदण्ड भाँच्न खोजेको कटाक्ष गरिन ।
जनार्दनप्रति लक्षित गर्दै पौडेलले फेसबुकमा लेखेकी छिन्– ‘मुसाले तार काटे जसरी पार्टीको मेरुदण्ड काट्न लागिपर्नेलाई आमजनता र नेता कार्यकर्ताले राम्रोसँग चिनेका छन् कि ऊ अप्ठेरो त छँदै थियो र समस्या सधैं हो, तर समाधान चाहिँ कहिल्यै होइन । इतिहास छर्लङ्गै छ त प्रचण्ड विचार हो, आन्दोलन हो, नेतृत्व हो र समाधान पनि त हो । भोजभतेरी उनलाई कसैले बुझाइदेऊ, आन्दोलन चल्न त स्पष्ट दिशा निर्देशसहितको नेतृत्व र सुविचारित संगठन चाहिन्छ ।’
वाईसीएलका अध्यक्ष सुबोध शेर्पालीले पनि सामाजिक सञ्जालबाटै पार्टीमा अध्यक्ष ‘प्रचण्ड’ को विकल्प नभएको लेखेका छन् । सोमबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले अखिल क्रान्तिकारीको निर्वाचनबाट पार्टीमा उपमहासचिव शर्माको जबरजस्त पकड बढेको भनेर भइरहेको चर्चामा कुनै सत्यता नभएको जिकिर नै गरे ।
६ महिनाअघि काँग्रेस एमाले मिलेर माओवादीलाई पाखा लगाए पछि प्रचण्ड पार्टीलाई सशक्त प्रतिपक्षी मात्र होइन बलियो बनाएर आगामी चुनावमा चुनौती दिने दौडमा छन्। त्यसै सिलसिलामा देश दौडाहा गरेर विभिन्न पार्टीका नेता कार्यकर्तालाई माओवादीमा स्वागत गरिरहेका प्रचण्ड पार्टी भित्रकै नेताहरूबाट दबाबमा छन् ।
विद्यार्थी संगठनको चुनावमा जनार्दन हाबी भएपछि अतालिएका प्रचण्ड जसरी भएपनि उनलाई दबाउने रणनीति बनाइरहेका छन् । त्यसो त प्रचण्ड तिनै नेता हुन् जसले आफूविरुद्ध गतिविधि गरेकै कारण तत्कालिन वरिष्ठ उपाध्यक्षहरु मोहन वैद्य किरणदेखि बाबुराम भट्टराई सम्मलाई पार्टी छाडेर हिड्न बाध्य बनाएका थिए । आफूविरुद्ध जो लाग्छ त्यसलाई सिध्याउने नीति बोकेका प्रचण्डले जनार्दनमाथि पनि त्यो हतियार प्रयोग गर्न खोजिरहेका छन् ।
अप्रिलमा पर्यटकको ओइरो, भित्रिए एक लाख १६ हजार विदेशी
बलियो सरकारको हलुका नीति तथा कार्यक्रम, यस्ता छन् मुख्य ११ बुँदा
राष्ट्र बैंकको कारबाहीमा पाँच वाणिज्य बैंक, किन गरियो स्ट्याण्डर्ड चार्टर्डलाई पौने १५ करोड जरिवाना ?
कुलमानका कमजोरी औल्याउँदै हितेन्द्रले जारी गरे स्वेतपत्र, सम्पत्तिको गलत तथ्यांक दिइएको आरोप
अब बैंक तथा वित्तीय संस्थामा श्रम ऐन नलाग्ने
बालयौन दुरुपयोगमा दोषी ठहर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
कीर्गिस्तानविरुद्ध नेपालको संघर्षपूर्ण जित
३१ महिनामा सहकारीको २८ अर्ब ठगी, २४२ वटा मुद्दा दर्ता
ठमेल काण्डः अखिल नेतालाई उन्मुक्ति दिन प्रहरीसँग खोसिएको थियो पक्राउ लिष्ट
श्रीमान अष्ट्रेलियामा, श्रीमती हनी ट्रयापिङको धन्दामा, होटल पुगेर १० लाखको बार्गेनिङपछि खुल्यो पोल
प्रतिक्रिया