३० कात्तिक २०८३
काठमाडौँ - प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह यही मंसिरको पहिलो हप्ता छिमेकी मुलुक भारतको औपचारिक भ्रमणको तयारीमा छन् । सरकारले औपचारिक घोषणा गर्न बाँकी रहे पनि मंसिर ६ देखि ८ गतेसम्म प्रधानमन्त्रीले भारत भ्रमण गर्ने सम्भावना रहेको स्रोतको दाबी छ ।
समग्रमा प्रधानमन्त्री शाहको यो दोस्रो विदेश भ्रमण हुनेछ । यसअघि उनी संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन असोज ६ गते अमेरिका प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारत दुवै पक्षले महत्त्वका साथ हेरेका छन् । प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीकै क्रममा नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले कात्तिक १९ प्रधानमन्त्री शाहसँग भेट गरेका थिए । भ्रमणका क्रममा मिश्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री शाहको भारत भ्रमण र उठाउने एजेण्डा मन्त्रिपरिषद्ले स्वीकृत गर्न बाँकी छ । भारत भ्रमण र एजेण्डा स्वीकृत गर्नका लागि भोलि मन्त्रिपरिषद् बैठक बस्न सक्ने एक मन्त्रीले जानकारी दिए ।
‘प्रधानमन्त्रीको भारत भ्रमणको मिति लगभग तय भएको छ । भ्रमणको क्रममा उठाउने एजेण्डा, सहभागी प्रतिनिधि स्वीकृत गर्नका लागि सायद भोलि मन्त्रिपरिषद् बैठक बस्ला’, ती मन्त्रीले भने ।
यता प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका लागि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले औपचारिक रूपमा सुझाव र सल्लाह दिएको छैन । महामन्त्री विपिन कुमार आचार्य नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल ११ दिने भ्रमणका लागि आइतबार चीन प्रस्थान गरेको छ । तर, अनौपचारिक रूपमा भ्रमणको क्रममा उठाउने एजेण्डाबारे प्रधानमन्त्रीसँग सरसल्लाह भइराखेको प्रवक्ता जगदीश खरेलले बताए ।
‘अनौपचारिक रूपमा प्रधानमन्त्रीसँग सरसल्लाह भइराखेको छ । उहाँको भ्रमण औपचारिक भएकाले दुई देशबिचको सम्बन्ध विस्तार, सौहार्द्रपूर्ण वातावरण बनाउने विषयमै केन्द्रित हुन्छ’, प्रवक्ता खरेलले भने, ‘सरकार प्रमुखको भ्रमण भएकाले कनेक्टिभिटी, पूर्वाधार विकास, पर्यटन, ऊर्जा, सिँचाइ लगायत विषयमा कुरा त भइहाल्छ । भ्रमणको एजेण्डा मन्त्रिपरिषद् बैठकले नै तय गर्ने भएकाले पार्टीले हस्तक्षेप गर्ने कुरा आउँदैन ।’
खरेलले पार्टी सभापति मधेस प्रदेशबाट सोमबार काठमाडौँ फर्किएपछि पार्टीले सरकारलाई के–कस्ता सुझाव दिने भन्ने विषयमा छलफल हुने बताए । सरकार प्रमुख औपचारिक रूपमा विदेश भ्रमणमा निस्कनुअघि विगतका प्रधानमन्त्रीले विपक्षी दलका नेताहरू, पूर्वप्रधानमन्त्री, विषय विज्ञ लगायतसँग सुझाव लिने अभ्यास थियो । तर, वर्तमान सरकारले विपक्षी दलका नेताहरू, पूर्वप्रधानमन्त्रीहरूसँग अहिलेसम्म छलफल गरेको छैन ।
यसअघि संयुक्त राष्ट्र संघको महासभामा जाने बेलामा पनि प्रधानमन्त्री शाहले कसैसँग छलफल गरेका थिएनन् । यस विषयमा को–कोसँग छलफल गर्नेरनगर्ने कार्यक्षेत्र सरकारको भएको खरेलले स्पष्ट पारे । विगतको अभ्यास अहिलेको सरकारले पनि निरन्तरता दिनुपर्ने नभएको उनको भनाइ छ । सरकारलाई समन्वय गर्न परराष्ट्र मन्त्रालय लगायत विभिन्न सरकारी निकाय भएकाले परिपक्वतामाथि प्रश्न उठाउन नहुने उनको तर्क छ ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया