३० कात्तिक २०८३
काठमाडौं- प्रहरी प्रमुखमा पुर्नबहाली गर्न माग गर्दै, सरकारको निर्णयलाई चुनौती दिदै सर्वोच्च अदालतको दैलोमा पुगेका निवर्तमान आइजीपी दानबहादुर कार्की जोडिएको भ्रष्टाचारको मुद्दामाथिको अनुसन्धानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिव्रता दिएको छ । आइजीपीबाट सरकारले बर्खास्त गरेसँगै अख्तियारले उनकै घाँटी कस्ने गरी भ्रष्टाचारको फाइल अन्तिम चरणमा पु¥याएको छ ।
गत फागुनको निर्वाचनमा खटिएका झण्डै डेढ लाख म्यादी अर्थात् निर्वाचन प्रहरीको जुत्तादेखि चुस्तासम्म, मोजादेखि भाटासम्म खरिद गर्दा ६० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धानलाई तीव्र पारेको छ। अझ महत्वपूर्ण कुरा त के छ भने, यो कमिसन र सेटिङको जालोमा पूर्वआईजीपी कार्की मात्र होइन, उहाँकी पत्नी नवीना खत्री, डीआईजी विश्व अधिकारी, ठेकेदारहरूको गिरोह र नीतिगत निर्णय गर्ने तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल समेत अख्तियारको छानबिनको घेरामा तानिएका छन् ।
कागजी रूपमा निर्वाचन प्रहरी आफैँले पोशाक किनेको देखाइए पनि भित्रभित्रै प्रहरी प्रधान कार्यालयमै जिल्ला तोकेर ठेकेदारहरूसँग डरलाग्दो सेटिङ मिलाइएको अख्तियारको अनुसन्धानले देखाएको छ। उजुरी र प्रारम्भिक छानबिनअनुसार बजारमा जम्मा ३ हजार ५ सय रुपैयाँ पर्ने बन्दोबस्तीका सामानलाई प्रतिव्यक्ति ७ हजार ८ सय ६५ रुपैयाँ मूल्य कायम गरी खरिद देखाइयो। यति मात्र होइन, सार्वजनिक खरिद ऐनको धज्जी उडाउँदै १ लाख ३३ हजार ९८० जोर जुत्ता खरिद गर्दा सिधै ’गोल्डस्टार’ कम्पनी नै तोकेर खरिद गरिएको प्रमाण फेला परेको छ।
स्रोतका अनुसार खरिदमा भएको करिब ४० प्रतिशत कमिसनमध्ये प्रहरी प्रधान कार्यालयमा ४० प्रतिशत, प्रदेश तथा उपत्यका एआईजी–डीआईजीकहाँ १५ प्रतिशत र जिल्ला प्रहरी प्रमुखहरूसम्म ३५ प्रतिशतका दरले भागबण्डा गरिएको दाबीसहित अख्तियारमा उजुरी परेको थियो । यो प्रकरणमा पूर्वडीएसपी गणेश चन्दले बिचौलियाको भूमिका खेल्दै ठेकेदार ज्ञानेन्द्र बस्नेतको समूहलाई करिब ७० करोड रुपैयाँ बराबरको काम दिलाएको आरोप छ।
अनुसन्धानका क्रममा ठेकेदार बस्नेतको ’एभरेष्ट सिलाइ उद्योग’ र ’एभरेष्ट फुटवेयर’ को खातामा निर्वाचनको एक महिनाभित्रै झण्डै १५ करोड रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको र त्यहाँबाट ५–६ वटा अन्य कम्पनीहरूमा रकम ट्रान्सफर गरिएको खुलेको छ।
काम नै नगरेका कम्पनीका खातामा करोडौँ जम्मा भएको देखिएपछि अख्तियारले उच्च प्रहरी अधिकारी र तिनका श्रीमतीहरूको बैंक खातासमेत मगाएर छानबिन थालेको छ। यही क्रममा निवर्तमान आईजीपी दानबहादुर कार्कीकी पत्नी नवीना खत्रीविरुद्ध समेत उजुरी परेकाले आयोगले सोधपुछको दायरामा ल्याएको छ भने डीआईजी विश्व अधिकारीसँग बयान लिइसकिएको छ। उता, ठेकेदार राजमान मिश्र र नेपाल दूरसञ्चारका कर्मचारी टोपेन्द्र बीसीसँग पुनः बयान लिइएको छ भने राजु थापा, वीरेन्द्र जोशी, ज्ञानेन्द्र बस्नेत, मित्र लामा र श्रवण अग्रवाललाई बयानका लागि तानिएको छ।
यो घोटालामा केवल प्रहरी अधिकारी र ठेकेदारमा मात्र जोडिएका छैनन् तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालसमेत तानिएका छन् । अर्यालले स्वीकृत गरेको ‘निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि–२०८२’ मार्फत सार्वजनिक खरिद नियमावली, २०६४ को ठाडो उल्लंघन गर्दै नीतिगत चलखेल गरेको उजुरी अख्तियारमा परेको थियो । बजेट निकासा गर्दा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच भएको सम्झौता नै कानुनविपरीत रहेको पाइएपछि अख्तियारले तत्कालीन गृहमन्त्री अर्यालसँग समेत बयान लिने तयारी गरेको स्रोतको दाबी छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले समेत उपसमिति गठन गरेर यो खरिद प्रक्रियामाथि समानान्तर छानबिन अघि बढाएको छ। उजुरीमा लगाइएका आरोप र बैंक कारोबारका विवरणहरू प्रमाणित भएमा नेपाल प्रहरीको इतिहासमा यो अर्को ठूलो भ्रष्टाचार काण्ड बन्ने निश्चित छ।
यहि गम्भीर आरोप र विभिन्न विवादमा मुछिएपछि दानबहादुर कार्कीलाई सरकारले जिम्मेवारीबाट हटाएर डा। मनोजकुमार केसीलाई आइजीपी बनाएको थियो। कार्की अहिले पर्नुबहालीको माग गर्दै सर्वोच्च अदालतको दैलोमा पुगेका छन् अख्तियारले भने उनी जोडिएको भ्रष्टाचारको मुद्दा दायर गर्ने तयारी गरिरहको छ ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया