२३ असोज २०८२
काठमाडौँ - गत वर्षको असोजमा बाढीले ध्वस्त पारेका सडक पुनर्निर्माण हुन नपाउँदै यस वर्षको मनसुनले देशभरका सडक पूर्वाधारमा थप क्षति पुर्याएको छ । २०८२ असोजको तेस्रो साताको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोले बीपी, मेचीलगायत मुख्य राजमार्गहरूमा व्यापक क्षति पुगेको छ ।
यसमध्ये सबैभन्दा धेरै क्षति सुदूरपूर्वको लाइफलाइन मानिने मेची राजमार्गमा परेको छ । यो राजमार्ग क्षतिग्रस्त बन्दा सूदुरपूर्वका तीन जिल्लामा सवारी आवागमन ठप्प भयो ।
झापाको चारआलीदेखि ताप्लेजुङसम्म जोड्ने करिब २६८ किलोमिटर लामो यो राजमार्ग ठप्प हुँदा इलाम, पाँचथर र ताप्लेजुङ लगायत जिल्लामा अत्यावश्यक वस्तुको आपूर्ति तथा ढुवानी सेवा पूर्ण रूपमा ठप्प भएको छ ।
सडक डिभिजन इलामका अनुसार, क्षतिग्रस्त खण्डहरू मर्मत गर्न कम्तीमा एक साता लाग्ने अनुमान छ भने यसबाट करिब २ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
लामो दूरीको वैकल्पिक मार्ग धरान–धनकुटा–म्याङ्लुङ–फिदिम प्रयोगमा ल्याइएको छ । जसले पाँचथर र ताप्लेजुङलाई राहत मिलेको छ । तर इलामका लागि विकल्पमा अहिलेसम्म अन्य सडक सञ्जाल तयार नहुँदा सवारी आवागमन प्रभावित भएको सडक डिभिजन इलामका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर पवन भट्टराई बताउँछन् ।
उनका अनुसार मेची राजमार्गअन्तर्गत इलामको माइखोला खण्डस्थित राजदुवालीमा बुधबारदेखि मर्मत कार्य थालिएको छ । यो खण्ड बन्द भएका कारण इलाममा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।
‘यात्रुहरूका लागि भने माइखोलाबाट करिब डेढ किलोमिटर हिँडेर इलामबाट आउने सवारी साधनहरूमा चढ्ने व्यवस्था मिलाइएको छ । यद्यपि, खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरूको आपूर्ति र अन्य सबै ढुवानीका सेवाहरू बन्द भएका छन्,’ भट्टराइले भने ।
इन्जिनियर भट्टराईका अनुसार यो खण्ड सञ्चालनमा आउन कम्तीमा एक साता लाग्ने देखिएको छ, किनभने सडक दबिएको छ । उक्त स्थानको मर्मतका लागि भुगर्भविद् ल्याएर अध्ययन गरी मर्मत थालिएको छ ।
राजमार्गका अन्य क्षतिग्रस्त स्थानमा निरन्तर मर्मत कार्य भइरहेको छ । समग्र मेची राजमार्ग पूर्ण रूपमा कहिलेसम्म सञ्चालनमा आउँछ भन्ने यकिन हुन सकेको छैन । काम गर्दै जाँदा आउने अवस्था अनुसार अघि बढ्नुपर्ने भएकाले कति समय लाग्छ भन्न सकिने स्थिति नरहेको भट्टराईले उल्लेख गरे ।
बीपी राजमार्ग शनिबारसम्म सञ्चालनमा ल्याउने तयारी, मर्मत जारी
यसै राजमार्गको राजदुवाली खण्डको मर्मत गरी इलामलाई तराईसँग जोड्न राँकेतर्फबाट सडक खुलाउने प्रयास गरिरहेको इन्जिनियर भट्टराईले जानकारी दिए ।
उनले भने, ‘तत्कालका लागि डेढ किलोमिटर जति सडक खुलाउन बाँकी छ र यसलाई बिहीबार दिउँसोसम्ममा सवारी आवागमनका लागि सुचारु गर्ने गरी काम गरीरहेका छौँ ।’
हाल यस खण्डमा मर्मतका लागि ५र६ वटा उपकरण परिचालन गरि मर्मत कार्य भइरहेको छ ।
कुन–कुन स्थानमा कति सडक क्षति
सडक विभागले सार्वजनिक गरेको विवरणअनुसार मेची राजमार्गमा बाढीका कारण मेची राजमार्गको जोरकलास भन्ने स्थानमा एक हजार मिटर सडक क्षति पुगेको छ । यस्तै फिक्कल गोदाकमा ८ सय, गोदाक माइखोलामा २ हजार मिटर, माइखोला राजदुवालीमा १ हजार ७ सय मिटर, इलाम धोवीधारामा १५ मिटर, धोवीधारा नेपालटार ५ हजार ९ सय मिटर, नेपालटार राँकेमा ६ हजार मिटर, राँके फिदिममा ४ हजार ५ सय मिटर सडकमा क्षति पुगेको विभागले जनाएको छ ।
दुई अर्बभन्दा बढी क्षति
यो सडक क्षतिग्रस्त हुँदा २ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबर क्षति पुगेको अनुमान छ ।
सरकारले मेची राजमार्गको पुनर्निर्माणका लागि करिब डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको सचिवालयले उक्त लागत अनुमान रहेको जानकारी दिएको हो ।
यसैगरी सोही राजमार्गमा पर्ने माइखोला पुलको फाउन्डेसन बगाउँदा ८ करोड बराबर क्षति भएको अनुमान छ । साथै उक्त स्थानमा सिङ्गल स्पानको ८० मिटर लामो स्थायी पुल निर्माणका लागि पनि ४० करोड आवश्यक रहेको जनाएको छ ।
हेवा खोलामा सिङ्गल स्पानको ८० मिटर लामो पक्की पुल निर्माणका लागि ४२ करोड आवश्यक रहेको सडक विभागले जनाएको छ । हेवा खोलामा गत वर्ष क्षति पुगेको थियो ।
करिडोरका पुललाई एक अर्ब आवश्यक
मेची करिडोरमा बाढीका कारण क्षति पुगेका पुल निर्माणमा डेढ अर्ब लागत अनुमान गरेको छ । सडक विभागले बुधबार सार्वजनिक गरेको विवरणअनुसार क्षति पुगेका तीन स्थायी पुल निर्माणका लागि मात्रै १ अर्ब ७ करोड आवश्यक भएको जनाएको छ ।
यसमध्ये पुवा खोला बेलिब्रिज ५० मिटरको पुल वासआउट हुँदा ८ करोड बराबर क्षति भएको अनुमान छ । उक्त स्थानमा स्थायी पुल निर्माणका लागि २५ करोड आवश्यक छ ।
यस्तै बाढीका कारण ठाडेखोलामा निर्माणधीन १२ मिटर लम्बाईको आरसीसी पुलको सबस्ट्रक्चर क्षति हुँदा २ करोड रुपैयाँ बराबर क्षति पुगेको अनुमान छ ।
सय मिटर लम्बाइको माइखोला पुल वासआउट भएको छ । जसको ३० करोड क्षति भएको अनुमान गरिएको छ । उक्त पुल भएको स्थानमा १२० मिटर सिंगल स्पानको नयाँ पुलको निर्माणका लागि ६० करोड आवश्यक रहेको विभागले जनाएको छ ।
जोगमाई बेलीब्रिज ४० मिटर वासआउट हुँदा ७ करोड बराबर क्षति पुगेको अनुमान छ । जसको ५५र६० मिटर सिंगल स्पानको नयाँ पुल निर्माणका लागि २२ करोड आवश्यक रहेको छ । यसैगरी माईखोला बज्रदेवी पुलको सब स्ट्रक्चरमा बाढीले क्षति गर्दा २ करोड बराबर क्षति भएको अनुमान छ । यो पुल सामान्य मर्मत गरिनुपर्ने देखिएको जनाएको छ ।
कांग्रेस पदाधिकारी बैठक भोलि पनि बस्ने
त्रिविका ६५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने
ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो
ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता
रविलाई प्रधानमन्त्री बनाउने गरी कारागारबाट निकालेको खुलासा, मुख्यसचिव र एआइजी नै दिएका थिए सहमति
दलहरुलाई नेतृत्व हस्तान्तरण गर्न तेइस जना नागरिक अगुवाहरूको आह्वान
कैदी र हतियार नफर्किएसम्म नेपालीलाई खाडीको रोजगारी कठिन
माइतीघरमा प्रदर्शन गर्न खोज्ने १४ जनाभन्दा धेरै पक्राउ
पूर्वउपकुलपति भण्डारीसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
दोलखाको लप्ची गुम्बाबाट फर्कने क्रममा फसेका ४ जना विदेशी पर्यटकको उद्धार
प्रतिक्रिया