२१ पुस २०८२
काठमाडौं- मिसन २०८४’ भन्दै निर्वाचनको तयारीमा बिस्तारै जुटिरहेका राजनीतिक दलहरूलाई भदौ २३ र २४ गते भएका घटनाले एकाएक सक्रिय बनाएको छ। तोकिएको समयभन्दा दुई वर्ष अगावै हुन लागेको प्रतिनिधि सभा निर्वाचनले दलहरूलाई दोहोरो चुनौती दिएको देखिन्छ — एकातिर जित्ने उम्मेदवार खोज्न कठिन, अर्कोतिर टिकट पाउन मात्रै मरिहत्ते गर्नेहरूको संख्या बढ्दो।
गत साता समानुपातिक उम्मेदवारको बन्दसूची बुझाइए पनि निर्वाचन वास्तवमै हुन्छ कि हुँदैन भन्ने विषयमा अझै दलहरू सशंकित छन्। प्रहरीलगायत सुरक्षा निकायहरूको मनोबल अपेक्षाकृत उच्च हुन सकेको छैन। नेपाली सेना र सशस्त्र प्रहरीले नियमित गस्तीका नाममा गाउँ–गाउँ पुगेर मतदाताको मनोभावना बुझिरहेका छन्। तर स्थानीयहरूको गुनासो उस्तै छ— “गाउँमा युवाहरू नै छैनन्, मतदाता भए पो उत्साह हुने?”
नयाँ दलहरूमा सत्ता यात्राप्रति तीव्र आकांक्षा देखिए पनि सर्वसाधारण नागरिकमा निर्वाचनप्रति भरोसा जाग्न सकेको छैन। यद्यपि निर्वाचन आयोगले तयारीलाई तीव्र पारेको छ।
अघिल्लो निर्वाचनमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सूर्यमान दोङ र गठबन्धन तोड्दै नेकपा एमालेका गोकुल बास्कोटा विजयी भएका थिए। तर यसपटक दुबै जना उम्मेदवारीका लागि पहिलेझैँ उत्साहित देखिँदैनन्। एमालेभित्रको आन्तरिक राजनीतिले बास्कोटालाई प्रभाव पारेको छ भने दोङको हकमा २०६४, २०७० र २०७९ सालमा उम्मेदवार भइसकेकाले अब नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवाज उठ्न थालेको छ। पार्टी एकीकरणपछि हौसिएका भए पनि मत परिणामप्रति आशंका रहेकाले उनी पछि हटेको बताइन्छ।
बास्कोटाको सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग फरक धारमा उभिएकाले टिकट नपाइने हो कि भन्ने चिन्ता स्थानीय नेता–कार्यकर्तामा देखिन्छ। यद्यपि बास्कोटा उम्मेदवार बनेमा उक्त निर्वाचन क्षेत्रमा एमालेको जित सुनिश्चित हुने आँकलन धेरैको छ। उनको विकल्पका रूपमा ओली समूहमा सक्रिय, केन्द्रीय कमिटी सदस्य तथा नेपाल नगरपालिका संघका पूर्वअध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको नाम चर्चामा छ। तर प्रमुखको पदावधि बाँकी रहँदा निर्वाचनमा जाने कि नजाने भन्ने विषयमा उनी अझै निर्णयमा पुग्न सकेका छैनन्।
अन्य दलहरू पनि आन्तरिक छलफलमै व्यस्त छन्। नेपाली काँग्रेस महाधिवेशनको विवादमा अल्झिँदा उम्मेदवार चयन गौण बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्न इच्छुकहरूले आफ्ना नाम र धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन्।
यसैबीच निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि फागुन २० गतेसम्म २० वर्ष उमेर पूरा गरेका मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ। देशभर कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता कायम भएका छन्। बागमती प्रदेशमा ३६ लाख ८२ हजार ३ सय १० मतदाता छन्।
जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीका अनुसार काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख २६ हजार ६ सय ११ मतदाता छन्। जसमा पुरुष १ लाख ६७ हजार ४ सय ९९, महिला १ लाख ५९ हजार १ सय १० र अन्य २ जना छन्। २०७९ को निर्वाचनमा जिल्लामा ३ लाख १० हजार ६३ मतदाता रहेकामा यसपटक १६ हजार ५ सय ४८ मतदाता थपिएका छन्। जिल्लामा दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन्।
निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ६१ हजार १ सय मतदाता छन्। यस क्षेत्रमा खानीखोला, चौरीदेउराली, तेमाल, धुलिखेल नगरपालिकाका वडा ८ देखि १२, नमोबुद्ध नगरपालिका, पनौतीका वडा ४ देखि १०, साथै बेथान्चोक–६, महाभारत र रोशी गाउँपालिका पर्छन्।
निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ६५ हजार ५ सय ११ मतदाता छन्। यस क्षेत्रमा धुलिखेलका वडा १ देखि ७, पनौतीका वडा १, २, ३, ११ र १२, पाँचखाल, बनेपा, बेथान्चोक १ देखि ५, भुम्लु र मण्डनदेउपुर नगरपालिका समेटिएका छन्।
जिल्लामा १ सय ८९ मतदानस्थलमा ४ सय मतदान केन्द्र तोकिएका छन्। सुरक्षाको दृष्टिले ५८ वटा मतदानस्थल जटिल, ७६ मध्यम र ५६ सामान्य मानिएका छन्।
समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएसँगै निर्वाचनको वातावरण बन्दै गएको भए पनि दलहरूले अझै शान्ति सुरक्षाको प्रश्न उठाइरहेका छन्। भदौमा ‘जेन जी’ को नाममा भएको विध्वंशमा संलग्न केही व्यक्ति अझै फरार छन्। प्रहरी चौकीमा आगजनी, लुटिएका हातहतियार र गोली अझै समाजमै रहेको भन्दै दलहरूले यस्तो अवस्थामा निर्वाचनमा जान कठिन भएको दाबी गरेका छन्। यद्यपि सरोकारवालाहरू भने मुलुक क्रमशः निर्वाचनतर्फ अघि बढिरहेको बताउँछन्।
गृहमन्त्री पुगे रवि निवास,त्यसअघि छिरे अमरेशकुमार
बिचौलिया भट्टसँग गोल्छा समूहको पनि साठगाठ ,पक्राउ पर्न सक्छन् शेखर गोल्छा
बालेनलाई विश्व ट्रेड युनियन महासंघले भन्यो– ट्रेड युनियन खारेज नगर
गृहमन्त्री गुरुङमाथि लागेका आरोपको छानबिन गर्न कांग्रेसको माग
कांग्रेस संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन
विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सुरक्षा युनिट, भवन र जमिन नदिने
विश्वविद्यालयमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने
वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय
बालेनको म्याराथन शैलीले सिंहदरबार तरंगित, राजनीतितक गफ र रिवन काट्न निषेध, कांग्रेस एमालेका नेता नै हुँदैछन् मोहित
बालेन सरकार रमिते बन्दा किन्नै नसक्नेगरी बढ्यो महंगी, सांसदलाई केराको चिन्ता, नागरिक भोकै बस्नुपर्ने खतरा
प्रतिक्रिया