२० कात्तिक २०८३
काठमाडौं- विपक्षी दलहरुले घेराबन्दी गरिरहेका बेला, आफ्नै पार्टीका सभापतिले प्रश्न उठाउदा आक्रोशित बनेका प्रधानमन्त्री बालेन शाह देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ भन्दै रवि लामिछानेमाथि खनिएका छन् । आइजीपी दानबहादुर कार्कीलाई हटाएपछि सभापति रविले यस विषयमा सरकारले जवाफ दिनु पर्ने प्रतिक्रिया दिएका थिए । त्यसपछि आक्रोशित बनेका प्रधानमन्त्री बालेनले यसरी जवाफ दिए की रवि र बालेनबीच भित्र भित्रै द्वन्द्व चलिरहेको छ भन्ने हल्लालाई पुष्टि नै गरिदिए ।
विवादको मुख्य कडी बन्यो– बुधबार सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर एआईजी मनोज केसीलाई नयाँ प्रहरी प्रमुख बनाउने निर्णय। पार्टीभित्र कुनै छलफल र सुइँको नै नदिई प्रधानमन्त्री बालेन शाहले प्रहरी नेतृत्व फेरेपछि रास्वपाभित्र खैलाबैला मचियो। बिहीबार चितवन पुगेर सञ्चारकर्मीहरूसँग बोल्दै सभापति रवि लामिछानेले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै भने– “सुरक्षा निकायको जिम्मेवारी हेरफेर असाध्यै संवेदनशील विषय हो, सरकारले यसको औचित्य अवश्य पनि पुष्टि गर्ला। पार्टीले सरकारका सबै काममा हो मा हो मिलाउँदैन, चेक एन्ड ब्यालेन्स गर्छ।“
पार्टीका सभापतिले सार्वजनिक रूपमै यसरी प्रश्न उठाएपछि आक्रोशित बनेका प्रधानमन्त्री बालेनले मध्यराति फेसबुकमार्फत कडा जवाफ फर्काए । उनको एक स्टाटसले दुई तिर तीर हानेको थियो। कांग्रेस सभापति गगन थापालक्षित ‘तपाईंहरूका कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्’ भन्दै कटाक्ष गरेका बालेनले आफ्नै पार्टीका सभापति रविलाई सङ्केत गर्दै भने– ’हाम्रा नेता लड्छन्, मानवताले आश गर्छन्। फरक यति हो ? देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ१’ बालेनको यो भनाइले रास्वपाभित्र प्रधानमन्त्री र सभापतिबीच नीतिगत र कार्यशैलीगत लडाइँ कुन हदसम्म पुगेको छ भन्ने स्पष्ट पारिदिएको छ।
रोचक त के छ भने, विगतमा सधैँ ’देश बनाउने’ र विकासका ठूला एजेन्डा प्रस्तुत गर्ने प्रधानमन्त्री बालेन यसपटक ’देश जोगाउने’ रक्षात्मक भाषामा ओर्लिएका छन्। उनले यो स्टाटस लेख्नुभन्दा केही घण्टाअघि मात्रै भारतीय विदेशसचिव विक्रम मिस्रीसँग महत्वपूर्ण संवाद गरेका थिए । सामाजिक सञ्जालमा कतिपयले बालेनको ‘देश जोगाउने’ अभिव्यक्तिलाई त्यही कूटनीतिक संवाद र बाह्य दबाबसँग जोडेर हेरेका छन् भने कतिपयले विपक्षी दलहरूको घेराबन्दी र पार्टीभित्रकै विद्रोहबाट सरकार जोगाउने सङ्कटका रूपमा विश्लेषण गरेका छन्।
इनम सापकोटाको अडियो प्रकरणमा गगन थापालाई ट्र्यापमा पार्न खोजिएको आरोप, मिडिया हाउसमा प्रहरी पठाउने कदम र प्रहरी प्रमुखको सरुवाजस्ता विषयमा बालेन र रविबीच पहिलेदेखि नै मतभेद रहँदै आएको थियो।
रवि लामिछानेले ’पार्टी जोगाउने’ र संगठन जोगाउने धुनमा अभिव्यक्ति दिइरहँदा, सरकारको नेतृत्व गरिरहेका बालेन भने आफूलाई ’देश जोगाउने’ नायकका रूपमा उभ्याउन खोजिरहेका छन्। तर, सत्ता र पार्टीका दुई मुख्य स्तम्भहरू नै यसरी जुध्न थालेपछि बहुमतको घमण्डमा रहेको बालेन सरकारको स्थायित्वमाथि नै गम्भीर सङ्कटका बादलहरू मडारिन थालेका छन्। अरू दलमा कार्यकर्ता लड्दा नेता हाँस्ने, तर रास्वपामा नेता नै आपसमा लड्ने– प्रधानमन्त्री बालेनको यो स्वीकारोक्तिले रास्वपाभित्रको आन्तरिक द्वन्द्व कुन तहसम्म पुगेको छ भन्ने छर्लङ्ग पारेको छ। आइजीपी बर्खास्तीको निहुँमा बालेन र रविबीच छेडिएको यो वाकयुद्ध केवल एउटा निर्णयको असन्तुष्टि मात्र होइन, आगामी राजनीतिक वर्चस्वको महासंग्राम हो।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया