१५ असोज २०८३
काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकका हक अधिकारको प्रभावकारी संरक्षण र कार्यान्वयन गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ।
३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बिहीबार आयोगले ज्येष्ठ नागरिकलाई राज्य, परिवार र समाजबाट सम्मान, संरक्षण तथा अधिकारमा पहुँच सुनिश्चित गर्न आग्रह गरेको हो।
आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाललगायत विश्वभर ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै उनीहरूको अधिकार संरक्षणमा थप संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ।
आयोगले गरेको अध्ययन,अनुगमन तथा अनुसन्धानका क्रममा ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार हुने, परिवारबाट उचित पालनपोषण तथा स्याहारसुसार नपाउने, एक्लोपन बढ्दै जाने र वृद्धाश्रममा पठाउनेजस्ता समस्या देखिएको जनाएको छ। त्यस्तै, ज्येष्ठ नागरिकको नाममा रहेको सम्पत्ति झुक्याएर वा ललाईफकाई अन्य व्यक्तिको नाममा बनाउने तथा राज्यबाट प्राप्त हुने विभिन्न सुविधाबाट समेत वञ्चित गर्ने अवस्था रहेको आयोगको भनाइ छ।
आयोगले एकल परिवारको बढ्दो प्रवृत्ति र प्रविधिको प्रभावका कारण अन्तरपुस्ता दूरी बढ्दै गएको तथा ज्येष्ठ नागरिकप्रतिको पारिवारिक र सामाजिक सम्मान तथा संरक्षणमा कमी आएको जनाएको छ।
नेपालको संविधानको धारा ४१, ज्येष्ठ नागरिक ऐन २०६३ तथा नियमावली २०६५ लगायत विभिन्न कानुनी तथा नीतिगत व्यवस्था भए पनि तिनको कार्यान्वयन सन्तोषजनक नरहेको आयोगले जनाएको छ।
अन्तर्राष्ट्रियस्तरमा मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धि १९६६, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी प्रतिज्ञापत्र १९६६ र संयुक्त राष्ट्रसङ्घीय ज्येष्ठ नागरिकसम्बन्धी सिद्धान्त १९९१ लगायतका दस्तावेजले ज्येष्ठ नागरिकका अधिकारलाई सम्बोधन गरेको आयोगले स्मरण गराएको छ।
ज्येष्ठ नागरिकका लागि सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा, स्वास्थ्य उपचारमा छुट, यातायातमा छुट तथा आरक्षित सिट र सेवाप्रवाहमा प्राथमिकताजस्ता व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आयोगले आग्रह गरेको छ।
त्यसैगरी ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन, उनीहरूको एक्लोपनप्रति संवेदनशील बन्न तथा ज्येष्ठ नागरिकको अधिकार संरक्षण र संवर्द्धनलाई नीति, योजना, कार्यक्रम र बजेटमा प्राथमिकता दिन आयोगले तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ।
ज्येष्ठ नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक कदम चाल्न आग्रह गर्दै आयोगले परिवार तथा समाजलाई समेत ज्येष्ठ नागरिकप्रतिको आफ्नो दायित्वप्रति गम्भीर हुन अपिल गरेको छ।
संयुक्त राष्ट्रसङ्घले ज्येष्ठ नागरिकको सम्मान र अधिकारमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सन् १९९१ देखि प्रत्येक वर्ष अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउँदै आएको छ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया