२९ साउन २०८२
काठमाडौं- देश छाडेर परदेशीने युवाहरुको लर्कोमा डाक्टरहरुको पनि लाम लाग्न थालेको छ ।
देशमा गतिलो अवसर नपाएपछि, पाएको अवसरमा पनि गतिलो कमाइ र काम गर्ने माहोल नभएपछि धमाधम चिकित्सकहरु देश छाडेर पलायन हुन थालेका छन् । काम गर्ने माहोल बनाउने भन्दा दल र नेताहरु राजनीतिक भागबन्डामै मस्त छन् । त्यसमै कमाइ धन्दा चलाइरहेका छन् ।
देशको अवस्था अस्तव्यस्त बन्दै जादा डाक्टरहरुले स्वदेशमा अवसर देख्न छाडेका र वरिष्ठ चिकित्सकहरुले पनि देश छाड्न थालेका छन् । नेपालमा दर्ता हुनेमध्ये ७४ प्रतिशत चिकित्सक आकर्षक रोजगारी, वृत्ति विकास र अध्ययनका लागि विदेश पलायन हुने गरेको सरकारी तथ्यांले देखाउँछ ।
त्यसमा भर्खरै अध्ययन पूरा गरेका देखि उपचार अभ्यासमा पोख्त चिकित्सकसमेत पर्छन् । नेपाल मेडिकल काउन्सिलमा सन् २०२० देखि २०२३ सम्म ८ हजार ६ सय २४ चिकित्सक दर्ता भएका थिए भने यही बीचमा ६ हजार ३ सय ६८ जनाले विदेश जान असल चारित्रिक प्रमाणपत्र (गुड स्ट्यान्डिङ सर्टिफिकेट) लिएका थिए ।
सन् २०२३ मा २ हजार ३ सय १८ चिकित्सकले विदेश जाने प्रमाणपत्र लिएको काउन्सिलको तथ्यांक छ । यो वर्ष २ हजार ६ सय ९२ नयाँ चिकित्सक काउन्सिलमा दर्ता भएका थिए । त्यसअघि २०२२ मा २ हजार ८५ नयाँ चिकित्सक दर्ता भएका थिए भने १ हजार ९ सय ५४ चिकित्सकले विदेश जान प्रमाणपत्र लिएका थिए ।
यस्तै २०२१ मा १ हजार ७ सय १६ नयाँ चिकित्सक दर्ता भएका थिए । त्यो वर्ष १ हजार ३ सय २७ ले विदेश जान प्रमाणपत्र लिए । २०२० मा २ हजार १ सय ३१ नयाँ चिकित्सक दर्ता भएको र ७ सय ६९ चिकित्सकले विदेश जान प्रमाणपत्र लिएको तथ्यांक छ ।
नेपालमा करिब ३५ हजार चिकित्सक दर्ता छन् । २०२० यता वार्षिक २ हजारदेखि साढे २ हजारसम्म चिकित्सक काउन्सिलमा दर्ता हुने गरेका छन् । २० भन्दा बढी मुलुकमा नेपाली चिकित्सक गइरहेको काउन्सिलको प्रतिवेदनमा उल्लेख छ ।
अमेरिका, बेलायत, माल्दिभ्स, यूएई, अस्ट्रेलिया, भारत, क्यानडा, जर्मनीलगायतका देशमा नेपाली चिकित्सकको आकर्षण बढी देखिएको तथ्यांक छ । २०२३ मा ८ सय ४३ चिकित्सकले अमेरिका जान प्रमाणपत्र लिएका थिए । बेलायतका लागि ५ सय ५, माल्दिभ्स जान ३ सय ९५, भारत जान १ सय ८६, अस्ट्रेलियाका लागि १ सय ६६, यूएई जान १ सय ४२ जनाले प्रमाणपत्र लिए ।
बरिष्ठ मुटुरोग विशेषज्ञ पनि विदेश पलायन
डाक्टर पलायनको भिडमा पुराना र वरिष्ठ चिकित्सकहरु पनि परदेशीन थालेका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ चिकित्सक रामेश कोइराला पनि अमेरिका पलायन भएका छन् । सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्डियोभास्कुलर विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका रुपमा कार्यरत कोइरालाले अमेरिका बाटै राजीनामा दिएका छन् ।
कोइरालाले सामाजिक सञ्जालबाट राजीनामा पत्र सार्वजनिक गर्दै लेखेका छन्, ‘एक्कासि सीप, देश र पेसा छाड्दा मन अमिलो भो ।’ उनले ३० असोजदेखि लागू हुने गरी राजीनामा स्वीकृत गराएर सञ्चालक समितिलाई समेत जानकारी दिन केन्द्रका कार्यकारी निर्देशकलाई आग्रह गरेका छन् ।
कोइरालाले बीपी र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन दिएका थिए । स्वास्थ्यमन्त्री पौडेलले उनलाई पोखराको उपकुलपतिमा सिफारिस गर्न खोज्दा सुरुमै रोकिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । परराष्ट्र मन्त्रीसमेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले डा. रामेश कोइरालालाई उपकुलपति पदमा नियुक्तिका लागि दोस्रो पटक पनि रोकेको पाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार उपकुलपति नियुक्त गरेका हुन् । रिक्त ४ प्रतिष्ठानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले बराबर भागबन्डा गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान एमालेले छाड्न नसक्ने भन्दै कांग्रेसलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लिन भनेका थिए ।
जसअनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा विक्रम श्रेष्ठ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुद्धि पौडेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भरत खत्री र कर्णालीमा पुजन रोकाया नियुक्त भएका हुन् ।
उपकुलपतिहरू सिफारिस गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा. विकास देवकोटा र योजना आयोगका सदस्य प्रा.डा. आरपी विच्छा रहेको तीन सदस्यीय सिफारिस समिति गठन भएको थियो। यो समितिमा उपकुलपतिहरूको नाम सिफारिस गर्ने क्रममै मतभेद देखियो ।
स्वास्थ्य मन्त्री पौडेलले सुरूमा आफ्नो गृह प्रदेश गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रामेश कोइरालालाई पठाउन चाहेका थिए। तर पोखरा एमालेले लिने भएपछि मन्त्री पौडेलले बिपी प्रतिष्ठानमा रामेशलाई पठाउन खोजेका थिए।
तर समितिमा रहेका अरू दुई जना स्वास्थ्य सचिव देवकोटा र योजना आयोगका सदस्य विच्छाले रामेशको नाम नै सिफारिस नै गर्न मानेनन्।
मन्त्री पौडेलले रामेशको नाम सिफारिस नभए कुनै प्रतिष्ठानका लागि उपकुलपति सिफारिस नहुने अडान लिए। त्यसपछि योजना आयोगका सदस्य विच्छाले ’मलाई त रामेशको नाम सिफारिस नगर्नू भन्ने आदेश छ’ भनेका थिए। कसले यस्तो आदेश दिएको उनले खुलाएका थिएनन्। विच्छाले आदेशकर्ताको नाम नखुलाए पनि उनी आरजुको सिफारिसमा योजना आयोगको सदस्यमा नियुक्त भएको धेरैलाई थाहा छ ।
स्वास्थ्य सचिव र योजना आयोग सदस्य दुवै विपक्षमा रहे पनि मन्त्री पौडेलले रामेशको नाम सिफारिस गरिछाडे । मन्त्रीले नै अडान लिएपछि अन्तत; बिपी प्रतिष्ठान धरानका लागि एक नम्बरमा विक्रम श्रेष्ठ र दोस्रो नम्बरमा रामेशको नाम सिफारिस गरिएको थियो।
रामेशले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दुवैतर्फ आवेदन दिएका थिए। कांग्रेस र एमालेबीच समीकरण सरकार भएकोले कुन प्रतिष्ठान कसको भागमा पर्छ सुरूमा थाहा थिएन। तर क्षमता भएका व्यक्ति भएकोले जुनकुनै प्रतिष्ठानमा भए पनि रामेशलाई जिम्मेवारी दिनुपर्छ भन्नेमा मन्त्री पौडेल थिए।
कांग्रेस महामन्त्री गगन थापा र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले रामेशलाई उपकुलपति बनाउन पटक–पटक सभापति शेरबहादुर देउवासँग भेट पनि गरेका थिए । तर, सभापतिले मैले कसैलाई वचन दिइसकेको छु भन्दै रामेशको नाम सुन्नै चाहेनन् ।
यसरी राजनीतिक भागबन्डाको कोपभाजनमा परेका वरिष्ठ मुटु रोग विशेषज्ञ रामेश कोइरालालाई उपकुलपति हुनबाट रोकियो । यसअघि गगन थापा स्वास्थमन्त्री हुँदा पनि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनाउन खोजिएको थियो । त्यतिखेर पनि आरजुको दबाबमा देउवाले नै अस्विकार गरेका थिए ।
पटक पटक अपमानित र दलको भाडबन्डाको कोपभाजनमा परेका डा रामेश अन्ततः देश नै छाडेर पलायन भएका छन् । ‘एक्कासि सीप, देश र पेसा छाड्दा मन अमिलो भो ।' भन्दै अमेरिका नै बस्ने निर्णय लिएका छन् ।
कांग्रेस पदाधिकारी बैठक भोलि पनि बस्ने
त्रिविका ६५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने
ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो
ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता
रविलाई प्रधानमन्त्री बनाउने गरी कारागारबाट निकालेको खुलासा, मुख्यसचिव र एआइजी नै दिएका थिए सहमति
दलहरुलाई नेतृत्व हस्तान्तरण गर्न तेइस जना नागरिक अगुवाहरूको आह्वान
कैदी र हतियार नफर्किएसम्म नेपालीलाई खाडीको रोजगारी कठिन
माइतीघरमा प्रदर्शन गर्न खोज्ने १४ जनाभन्दा धेरै पक्राउ
पूर्वउपकुलपति भण्डारीसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
दोलखाको लप्ची गुम्बाबाट फर्कने क्रममा फसेका ४ जना विदेशी पर्यटकको उद्धार
प्रतिक्रिया