०९ पुस २०८२
काठमाडौं- आफ्नै आमालाई समेत गुमराहमा राखेका उनैसँग पैसा लिदै ठगेर कोही कसैले सरकारी जागिर खाएको नाटक गर्ला ? काठमाडौंको न्युरोडका समन श्रेष्ठले यस्तै चर्तिकला देखाएका छन् । जसको कहानी सुन्दा अनुसन्धानमा संलग्न प्रहरीहरू नै चकित परेका छन् । आफूले शाखा अधिकृतमा नाम निकालेको र त्यसका लागि खर्च लागेको भन्दै श्रेष्ठले आमासँग २७ लाख रुपैयाँ मागेका थिए ।
नीलो कोट–पाइन्ट, सेतो सर्ट र निजामती कर्मचारीको लोगोसहितको ढाकाटोपी लगाएर छोरो घर आउँदा आमा निकै खुसी थिइन् । विश्वास दिलाउन उनले आफ्नो तलब भन्दै आमालाई मासिक ३५ हजारसम्म नियमित बुझाउन थाले । अचम्मको कुरा त के भने, उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शाखा अधिकृतको कार्ड बोकेर गृहसचिवदेखि उच्चपदस्थ कर्मचारीलाई समेत सिंहदरबारभित्रै पुगेर भेट्थे । प्रहरीले उनको मोबाइल हेर्दा सरकारी अधिकांश उच्चपदस्थ कर्मचारीको नम्बर सुरक्षित गरेर राखेका थिए ।
सिंहदरबार गेटमा खटिएका सुरक्षाकर्मीबाट श्रेष्ठले दैनिक सलाम खान्थे । श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भने कहिल्यै छिरेनन् । ‘सामान्यमा छिर्दा थप सोधीखोजी हुने र आफू समातिन सक्ने डरले त्यहाँ नगएको उनले बयान दिएका छन् ।
खासमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एक युवती आफूलाई श्रेष्ठले जागिर लगाइदिने नाममा पटक–पटक दुव्र्यवहार गरेको भन्दै गुनासो लिएर पुगेपछि मात्रै श्रेष्ठमाथि अनुसन्धान शुरू भएको थियो । श्रेष्ठले ती युवतीलाई युनिसेफको जागिर भन्दै नक्कली नियुक्ति पत्र दिएका थिए । उनको खातामा मासिक तलब भनेर २७ हजार रुपैयाँ ई–सेवामार्फत पठाइदिन्थे । युवतीको काम भने श्रेष्ठले बोलाएको ठाउँमा आउने र कफी पिउने मात्रै थियो । गुनासो आएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेर ‘तपाईं शाखा अधिकृतको कतिऔँ ब्याच हो ?’ भनेर सोध्यो ।
श्रेष्ठले ६७ औं ब्याच भनेर जवाफ दिए । प्रहरीले लोक सेवा आयोगमा बुझ्दा हालसम्म शाखा अधिकृतको ४७ औं ब्याच मात्रै भर्ना भएको तथ्य खुल्यो । अनि प्रहरी ढुक्क भयो, श्रेष्ठले आफैंले शाखा अधिकृतको नक्कली परिचय पत्र बनाएको भनेर ।
प्रहरीले श्रेष्ठबाट बरामद गरेको परिचय पत्रको नम्बर १०÷०८२÷८३ उल्लेख गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको कार्डको अवधि २०८२÷०१÷०३ देखि २०८३÷०१÷०३ सम्म छ । कार्डमा प्रमाणित गर्नेको दस्तखत पनि श्रेष्ठ आफैंले गरेका छन् । श्रेष्ठले अर्को समूहसँग मन्त्रालयको सिफारिश बनाइदिने नाममा सात लाख असुली गरेको उजुरी प्रहरीमा परेको छ । प्रहरीका अनुसार श्रेष्ठले कार्ड आफैँ छपाइ गरेका थिए । पोशाक पनि आफैँ सिलाउन लगाएका थिए ।
प्रहरीबाट सलाम खानकै लागि श्रेष्ठ दैनिक ६ पटकसम्म सिंहदरबार भित्र–बाहिर गर्थे । प्रहरीले श्रेष्ठकी आमालाई पनि अनुसन्धान कार्यालयमा बोलाएको थियो । तर, आमालाई छोराको कर्तुत थाहा थिएन । प्रहरीले श्रेष्ठलाई लिखत कीर्ते मुद्दामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ ।
गृहमन्त्री पुगे रवि निवास,त्यसअघि छिरे अमरेशकुमार
बिचौलिया भट्टसँग गोल्छा समूहको पनि साठगाठ ,पक्राउ पर्न सक्छन् शेखर गोल्छा
बालेनलाई विश्व ट्रेड युनियन महासंघले भन्यो– ट्रेड युनियन खारेज नगर
गृहमन्त्री गुरुङमाथि लागेका आरोपको छानबिन गर्न कांग्रेसको माग
कांग्रेस संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन
विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सुरक्षा युनिट, भवन र जमिन नदिने
विश्वविद्यालयमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने
वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय
बालेनको म्याराथन शैलीले सिंहदरबार तरंगित, राजनीतितक गफ र रिवन काट्न निषेध, कांग्रेस एमालेका नेता नै हुँदैछन् मोहित
बालेन सरकार रमिते बन्दा किन्नै नसक्नेगरी बढ्यो महंगी, सांसदलाई केराको चिन्ता, नागरिक भोकै बस्नुपर्ने खतरा
प्रतिक्रिया