१३ कात्तिक २०८३
रकभिल, मेरिल्यान्ड (अमेरिका) नेपाली मूलका चिकित्सक तथा सामाजिक अभियन्ता डा विशाल भण्डारीको नेतृत्वमा अमेरिकाको मेरिल्यान्ड राज्यमा पहिलो साउथ एसियन अमेरिकन हेल्थ समिट २०२६ भव्य रूपमा सम्पन्न भएको छ। दक्षिण एसियाली समुदायको स्वास्थ्य पहुँच विस्तार तथा राज्यको स्वास्थ्य नीति निर्माणमा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले आयोजित सम्मेलनले नेपाली समुदायको प्रतिष्ठा बढाएको छ।
अक्टोबर १० मा आयोजित सम्मेलन ‘भ्वाइसेस फर भिजनः एम्पावरिङ केयर थ्रु एड्भोकेसी एन्ड इनोभेसन’ अर्थात् पैरवी र नवप्रवर्तनमार्फत स्वास्थ्य सेवाको सशक्तीकरण भन्ने नाराका साथ सम्पन्न भएको हो। सम्मेलनको निर्देशकका रूपमा डा. भण्डारीले नेतृत्व गरेका थिए।
कार्यक्रममा मेरिल्यान्डकी उपगभर्नर अरुणा मिलर र स्वास्थ्य सचिव डा. मिना शेषामणीले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै डा। भण्डारीलाई राज्यको प्रतिष्ठित ‘गभर्नर्स साइटेसन’ सम्मान प्रदान गरे।
त्यसैगरी, मेरिल्यान्ड नेपाली मेडिकल सोसाइटीकी अध्यक्ष तथा स्वास्थ्य परिचारिका एवं गीतकार सुनिता बस्नेतलाई पनि समुदायमा स्वास्थ्य सेवा विस्तार र जनचेतना अभिवृद्धिमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको थियो।
सम्मेलनलाई सम्बोधन गर्दै उपगभर्नर अरुणा मिलरले दक्षिण एसियाली समुदायको एकता र सामूहिक सहभागिताले समुदायको सफलता तथा सामर्थ्यलाई थप मजबुत बनाउने बताइन्। स्वास्थ्य सेवा विज्ञानमा आधारित हुनुपर्ने उल्लेख गर्दै उनले बिरामीको विश्वास जित्नु नै चिकित्सा सेवाको महत्वपूर्ण पक्ष भएको धारणा राखिन्।
सम्मेलनका निर्देशक डा. भण्डारीले मेरिल्यान्डमा दक्षिण एसियाली समुदायको जनसंख्या तीव्र गतिमा बढिरहेको भए पनि स्वास्थ्यसम्बन्धी क्लिनिकल अनुसन्धान र नीति निर्माणमा उनीहरूको प्रतिनिधित्व अझै न्यून रहेको बताए।
उनले लामो समयदेखि दक्षिण एसियाली समुदायको शारीरिक बनावट र स्वास्थ्य अवस्थालाई पर्याप्त रूपमा सम्बोधन नगरी अन्य समुदायका तथ्याङ्क तथा अनुसन्धानका आधारमा स्वास्थ्य निर्देशिका तयार हुँदै आएको विषय उठाए। नीति निर्माणको तहमा समुदायका वास्तविक आवश्यकता र स्वास्थ्यसम्बन्धी सवाललाई पुर्याउनु सम्मेलनको महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो।
डा। भण्डारीका अनुसार सम्मेलनले सबै समस्या तत्काल समाधान नगरे पनि दक्षिण एसियाली समुदायको स्वास्थ्यसम्बन्धी मुद्दालाई नीति निर्माण गर्ने निकायसम्म पुर्याउन महत्वपूर्ण आधार तयार गरेको छ। चिकित्सा क्षेत्रमा सकारात्मक परिवर्तनका लागि सही संवाद र प्रभावकारी पैरवी आवश्यक रहेको उनले जोड दिए।
सम्मेलन सफलतापूर्वक सम्पन्न भएपछि डा। भण्डारीले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै यसलाई जीवनकै महत्वपूर्ण ऐतिहासिक क्षणमध्ये एक भएको बताएका छन्। बिरामी, चिकित्सक र नीति निर्माताका रूपमा दक्षिण एसियाली समुदायले निर्णय प्रक्रियामा समान सहभागिता पाउनुपर्ने उल्लेख गर्दै उनले यो अभियानको सुरुवात मात्र भएको बताएका छन्।
लामो समयदेखि बाल्टिमोरलाई कर्मथलो बनाउँदै आएका डा. भण्डारी मेरिल्यान्ड गभर्नर्स आयोगका आयुक्त तथा स्वास्थ्य समितिका अध्यक्षसमेत हुन्।
सम्मेलनका विभिन्न प्राविधिक सत्रमा नेसनल क्यान्सर इन्स्टिच्युटका डा. रोशनलाल श्रेष्ठलगायत नेपाली स्वास्थ्य विज्ञहरूले सहजीकरण गरेका थिए। सामूहिक छलफलमा एएनएमएफका तर्फबाट नर्थ क्यारोलाइनाका डा। अनन्त सुबेदीले पनि सहभागिता जनाएका थिए।
दक्षिण एसियाली समुदायको स्वास्थ्य अधिकार, पहुँच, अनुसन्धान र नीति निर्माणमा सहभागिता बढाउने उद्देश्यसहित सम्पन्न सम्मेलनलाई अमेरिकामा नेपाली तथा दक्षिण एसियाली समुदायको संस्थागत उपस्थिति र स्वास्थ्य क्षेत्रमा नेतृत्व विकासको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया